ताप्लेजुङ, फागुन ७ :

पाथीभरामा केबलकार निर्माणको विरोध र समर्थनमा आज छुट्टाछुट्टै कार्यक्रम हुँदैछ। केबलकार निर्माणको समर्थनमा मंगलबार नै सदरमुकाम फुङलिङमा सद्भाव र्‍याली निकालिँदै छ। 

विकासप्रेमी युवा समाजको आयोजनामा दिउँसो नगर परिक्रमा गरिने र्‍यालीको मुख्य उद्देश्य केबलकार निर्माणमा सहयोग पुर्‍याउनु रहेको छ। नगर प्रमुखसहित विभिन्न व्यक्तिहरूको समर्थन रहेको यस र्‍याली सामुदायिक भवन सिटिहलबाट सुरु हुनेछ।

यस्तै निर्माणको विरोध गर्दै आएको समूहले मंगलबारदेखि आठ गतेसम्म पदयात्रा गर्दै क्षमा पूजा गर्ने भएको छ। समूहले फुङलिङ सदरमुकामबाट पदयात्रा सुरु गरी पाथीभरासम्म पुग्ने र आठ गते पुनः फुङलिङ फर्कने कार्यक्रम रहेको छ। 

ताप्लेजुङमा केबलकार निर्माणको पक्ष र विपक्षमा गतिविधि भइरहँदा पनि निर्माण कार्य भने रोकिएको छैन। हाल सब स्टेशन निर्माण कार्य जारी रहेको छ भने सब स्टेशनदेखि मन्दिरसम्मका रुख कटान तथा छपानको काम सकिएको छ।

यस्ता गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। पाथीभरा क्षेत्र, काफ्लेपाटी र फुङलिङमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई रणनीतिक स्थानमा परिचालन गरिएको छ।