
प्रतिनिधिसभामा तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडासचिव नवीन भुसालमाथि भएको हातपातको विरोध भएको छ ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा आज (मंगलबार) माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले वडासचिव भुसालमाथि भएको कुटपिटको निन्दा गरेका छन् ।
‘तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका ६ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि गरेको कुटपिटको घटनाको निन्दा गर्दछु । योलगायत कर्मचारीहरुमाथि गरिएका सबै कुटपिटका घटनाको विरोध गर्दै कर्मचारीहरुको सुरक्षा र कानुनअनुसार काम गर्ने वातावरण मिलाउनका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।
प्रमुख सचेतक पाण्डेले घाइते वडासचिव भुसालको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । ‘घाइते सचिव नवीन भुसालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको नि:शुल्क उपचारको व्यवस्था मिलाउन र यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि सभामुखमार्फत माग गर्दछु ।’
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए । वडाध्यक्ष गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको चर्को विरोध भएपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।
यसैबीच तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडासचिव भुसालमाथि भएको हातपातको विरोधमा दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यालयका सचिवहरूले पेनडाउन गरेका छन् ।
त्यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेकामा पनि सचिवहरुले विरोध जनाएका छन् । ती घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै राप्तीका सचिवहरू विरोधमा उत्रिएका हुन् ।