
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका उपकुलपति शरनजीत सिंहले नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारप्रति माफी मागेका छन् ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने तथा नेपालकै बिरुद्ध अभिव्यक्ति दिने विश्वविद्यालयका दुई महिला अधिकारीहरूको व्यवहारप्रति सिंहले खेद प्रकट गर्दै माफी मागेका छन्।
उनले मंगलबार विज्ञप्ति जारी गर्दै ती महिला अधिकारीहरूलाई सेवाबाट हटाएको जानकारी पनि दिएका छन्।साथै कलेज परिसरमा भएको विद्यार्थीको मृत्यु तथा त्यसपछिको प्रदर्शनमा भएको अप्रिय घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन्।
‘हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्त गैरजिम्मेवारपूर्ण छन्। उनीहरूले घटनाको क्षणमा दिएका भए पनि ती अभिव्यक्तिको हामी समर्थन गर्दैनौं। हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं,’ उनले लेखेका छन्। उनले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित शिक्षामा सामेल हुन अपिल पनि गरेका छन्।
यसैबीच, विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ । लम्सालको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए ।
त्यस्तै छात्रावासका दुई जना अधिकारी र एक जना प्रशासन अधिकृतलाई पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि निलम्बित गरिएको विश्वविद्यालयले जनाएको छ ।बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको थियो ।