काठमाडाैं, फागुन ७ :

भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने भएको छ। 

भारतस्थित नेपाली दूतावासले प्रकृतिको पार्थिव शरीर बुधबार बिहान ७ बजे भारतबाट उडानमार्फत नेपाल ल्याइने जानकारी दिएको छ। दूतावासका अनुसार, ओडिसा प्रहरी, केआईआईटी विश्वविद्यालय प्रशासन र मृतककी पिता सुनिल लम्सालबीच भएको छलफलपछि शव नेपाल पठाउने सहमति जुटेको हो ।

प्रकृतिका पिता सुनिल लम्सालले छोरीको मृत्यु रहस्यमय भएको भन्दै उनीलाई मानसिक यातना र ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका छन्।

ओडिसा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।  प्रकृतिको मोबाइल फोन, ल्यापटप र डायरी अनुसन्धानको लागि फरेन्सिक विभागलाई बुझाइएको छ ।

केआईआईटी विश्वविद्यालय प्रशासनले होस्टेल छाडेका विद्यार्थीहरूलाई फर्कन आग्रह गर्दै सुरक्षाका थप उपायहरू अपनाउने प्रतिबद्धता जनाएको छ। नेपाली विद्यार्थीहरू तथा अभिभावकहरूले घटनाको विस्तृत छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिरहेका छन्। घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी चासो बढेको छ।