काठमाडाैं, फागुन ७ :

नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा विभागले फागुन ९ देखि २१ गतेसम्म देशभर सातवटा प्रदेशमा प्रचार अभियान सञ्चालन गर्ने जानकारी गराएको छ। यस अभियानमार्फत कांग्रेसले पार्टीले गरेका सकारात्मक कार्यहरू तथा देशमा ल्याएका परिवर्तनबारे जनमानसमा जानकारी गराउने बताएको छ।यस अभियान अन्तर्गत देशका विभिन्न सातवटा प्रदेशमा कार्यक्रम सञ्चालन गरिने छ। 

निर्धारित मिति र स्थान निम्नानुसार छन् 

फागुन ९ गते – कोशी प्रदेश, विराटनगर
फागुन १० गते – मधेस प्रदेश, जनकपुरधाम
फागुन १७ गते – गण्डकी प्रदेश, पोखरा
फागुन १८ गते – लुम्बिनी प्रदेश, बुटवल
फागुन २० गते – कर्णाली प्रदेश, सुर्खेत
फागुन २१ गते – सुदूरपश्चिम प्रदेश, धनगढी

यस प्रचार अभियानमा सम्बन्धित प्रदेशका कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमिति सदस्यहरू, प्रदेशसभा सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारीहरू तथा प्रचार विभाग प्रमुखहरूको सहभागिता रहने जनाइएको छ।

यस्तै विभागका अनुसार, अभियानको मुख्य उद्देश्य नेपाली कांग्रेसले विभिन्न कालखण्डमा गरेको योगदानबारे जनतालाई तथ्यगत रूपमा जानकारी गराउनु र युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय रूपमा संलग्न गराउनु रहेको छ।

नेपाली कांग्रेसले आगामी दिनहरूमा यस्ता अभियानलाई थप प्रभावकारी बनाउने र डिजिटल माध्यमबाट पनि जनसंपर्क अभियान सञ्चालन गर्ने योजना बनाएको छ।