
फाइल फोटो ।
प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो । को-को रिहा हुने छन् भन्ने नाम सार्वजनिक गरिएको छैन । नेपाली विद्यार्थी विपिन जोशी पर्छन् कि पर्दैनन् भन्ने सबै नेपालीको चासो छ ।
रिहाईको सातौं चरणसम्म आइपुग्दा पनि उनी सूचीमा परेका छैनन् । नेपालले छिटो रिहाईको लागि कूटनीतिक प्रयास जारी नै राखेको छ ।परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन जाँदा पनि विपिनको कुरा उठाइहाल्ने गरेकी छन् ।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ ।सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ ।