काठमाण्डौं, फागुन ७ :

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले साउदी अरेबियामा अमेरिकासँगको उच्चस्तरीय वार्तापछि आफ्नो देशले युक्रेनमा नेटो राष्ट्रका शान्ति सेनालाई कुनै पनि शान्ति सम्झौता अन्तर्गत स्वीकार नगर्ने बताएका छन् ।

अन्य कुनैपनि झण्डामुनि सेनाको उपस्थितिले केही परिवर्तन गर्दैन र यो पूर्णतया अस्वीकार्य रहेको उनले भनेका छन् ।तर रुस र अमेरिकाले युद्धको अन्त्यका लागि वार्ता सुरु गर्न टोली नियुक्त गर्न सहमत भएको बताएका छन् ।

बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो वार्तालाई कठिन यात्राको पहिलो खुड्किलो भएको तर  महत्वपूर्ण रहेको कुरा बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनलाई वार्ताका लागि आमन्त्रण नगरिएको बताएका छन् ।

रियादमा भएको यो बैठक रुसले युक्रेनमाथि गरेको पूर्ण आक्रमणपछि पहिलो पटक भएको हो । जसमा रुसी र अमेरिकी प्रतिनिधिमण्डल आमनेसामने भएका छन् ।


साउदी अरेबियामा भएको बैठकमा मध्यपूर्वका अमेरिकी राजदूत स्टिभ विटकोफ,अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभ र रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल दिमित्रिभ पनि सहभागी थिए ।

त्यसपछि रुसी विदेशमन्त्री लाभरोभले अमेरिका र रुसले जतिसक्दो चाँडो एकअर्काका देशमा राजदूत नियुक्त गर्ने र 'पूर्ण सहयोग पुनर्स्थापना गर्ने'वातावरण सिर्जना गर्ने बताएका थिए । यो धेरै उपयोगी कुराकानी थियो। हामीले एकअर्काको कुरा सुन्यौं उनले भने । उनले नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार र युक्रेन यसमा सामेल हुनु रुसका लागि प्रत्यक्ष खतरा हुने रुसको पहिलेको अडान दोहोर्याए । यसैबीच अमेरिकी विदेशमन्त्री रुबियोले रुस द्वन्द्व अन्त्यका लागि गम्भीर प्रक्रियामा संलग्न हुन इच्छुक रहेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा रुस र अमेरिकाबीच देखिएको सुमधुर सम्बन्धका बारेमा छलफल गर्न युरोपेली नेताहरूले सोमबार पेरिसमा हतारमा बैठक आयोजना गरेका थिए। बेलायतका प्रधानमन्त्री सर केइर स्टार्मरले युक्रेनको कुनै पनि सम्झौतामा रुसलाई आफ्नो छिमेकीमाथि फेरि आक्रमण गर्नबाट रोक्न अमेरिकी सहयोग आवश्यक पर्ने बताएका छन् । तर नेटोका प्रमुख सहयोगी जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा अहिले सेना पठाउने विषयमा छलफल गर्नु पूर्णतया अपरिपक्व भएको बताएका छन्।