काठमाडौं, फागुन ८ :

भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छानिबन गर्न उडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले लम्सालको मृत्युपछि भएको प्रदर्शन र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारको छानबिन गर्नेछ ।

छानबिन समितिमा गृह विभागबाट अतिरिक्त मुख्य-सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

बुटवलकी २० वर्षीया प्रकृति आइतबार अपराह्व होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । त्यसपछि सोही विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी र भारतीय विद्यार्थीहरूले दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय प्रशानले छानबिन गर्छौं भन्नुको साटो उल्टै नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय छाडेका थिए । नेपाल सरकारले कूटनीतिक पहल गरेपछि विश्वविद्यालय प्रशासनले माफी मागी नेपाली विद्यार्थीलाई होस्टलमा फिर्ता बोलाएको थियो ।

घटनाका एक आरोपी सोही विश्वविद्यालयका एक छात्र पक्राउ परेका छन् । अनुसन्धानका लागि नेपाली प्रहरीको टोली पनि सोही विश्वविद्यालयमा पुगिसकेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी छन् । यो घटनाको सदनदेखि सडकदेखि विरोध भइरहेको छ ।