काठमाडौं, फागुन ८ :

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए । उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे । राउतले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए ।

‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’

कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गए : न्यायाधीश फुयाल
कार्यक्रममा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताए ।

अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनीतिक प्रतिबद्धता पनि कमजोर रहेको उनको जिकिर छ । यस्तो खाली अवस्थालाई बदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उनको भनाइ छ । कानुनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उनले जग बलियो कसरी बनाउने भन्ने विषय इतिहासबाट सिक्न सकिने बताए ।

‘जतिखेर ठुलोठुलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरु कमजोर हुन्छन् । जस्तो कमन ल सिस्टम । मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरु आफ्नो सिस्टम खोज्न थाल्छन् । एउटा भ्याकुमक्रिएट हुन्छ,’ उनले भने, ‘मैले त्यस्तो अवस्था आयो त भनेको होइन । तर त्यसको फाउन्डेसन बनाइराख्नुपर्छ । हाम्रो लिगल सिस्टमको फाउन्डेसन बनाइराख्नुपर्छ । त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ ।’

नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भए पनि इतिहासको अभिलेख गर्ने काम सुरु हुनु खुसीको कुरा भएको धारणा राखेका थिए । न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन (लेखन शैली) बिग्रिएको उनीहरुको गुनासो छ । जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए ।