बागलुङ, फागुन ८ :

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई ५० हजार राशिको ‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

‘रत्न- श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरे।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उनी परिचित छन् । 

त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उनको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि १५ हजार रहेको छ । 

त्यसैगरी २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार- २०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ । रत्न- श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’ लाई पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिए । 

सोही समारोहमा बागलुङ नगरपालिका- ४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि दश हजार रहेको छ । गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।