रुपन्देही, फागुन ८ :

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ।

बुधबार साँझ सुनौली नाका हुँदै उनको शव भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए। शवलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ। यसअघि उनको शव आज बिहानै ल्याइने भनिएकोमा विभिन्न कारणले गर्दा ढिलो भएको बताइएको छ ।

प्रकृतिको मृत्युको घटना लगत्तै ओडिसा पुगेका उनका बुबा सुनिल लम्साल नेपाल आइपुगेपछि नै शव हस्तान्तरण गर्ने वा पोस्टमार्टमबारे निर्णय हुने डीएसपी कार्कीले जनाएका छन्।

गत आइतबार अपराह्न २० वर्षीया लम्साल आफ्नो होस्टलको कोठामा मृत फेला परेकी थिइन् । यो घटनालाई नेपाली विद्यार्थीहरुले  शंकास्पद भनेका छन् । नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई दमन गरेको आरोप छ।

नेपाली विद्यार्थीहरू भारतका विभिन्न नाका हुँदै घर फर्किरहेका छन्। त्रासकै कारण हालसम्म १६८ विद्यार्थी स्वदेश फर्किसकेको बताइएको छ।

यसैबीच, केआईआईटी विश्वविद्यालयले औपचारिक रूपमा माफी माग्दै नेपाली विद्यार्थीहरूलाई पुनः अध्ययनमा फर्किन आग्रह गरेको छ। तर, घटनापछि मानसिक रूपमा तनावमा रहेका विद्यार्थीहरू फर्किन इच्छुक छैनन्।

र यो पनि…

केआईआईटीमा अध्ययरत १२६ विद्यार्थी फर्किए, भन्छन्- कलेज प्रशासनले मानसिक यातना दियो