
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज (बिहीबार) परिवारलाई हस्तान्तरण गरिँदै छ ।
उनको शव हिजो (बुधबार) साँझ सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार शवलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ ।
प्रकृतिको मृत्युको घटनालगत्तै ओडिसा पुगेका उनका बुबा सुनील लम्साल नेपाल आइपुगेपछि नै शव हस्तान्तरण गर्ने वा पोस्टमार्टमबारे निर्णय हुने डीएसपी कार्कीले जनाए ।
२० वर्षीया लम्साल गत आइतबार अपराह्न आफ्नो होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । यो घटनालाई नेपाली विद्यार्थीहरुले शंकास्पद भनेका छन् । नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई दमन गरेको आरोप छ ।
नेपाली विद्यार्थीहरू भारतका विभिन्न नाका हुँदै घर फर्किरहेका छन् । त्रासकै कारण हालसम्म १६८ विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
यसैबीच, केआईआईटी विश्वविद्यालयले औपचारिक रूपमा माफी माग्दै नेपाली विद्यार्थीहरूलाई पुनः अध्ययनमा फर्किन आग्रह गरेको छ । तर, घटनापछि मानसिक रूपमा तनावमा रहेका विद्यार्थीहरू फर्किन इच्छुक छैनन् ।
यो पनि…
केआईआईटीमा अध्ययरत १२६ विद्यार्थी फर्किए, भन्छन्- कलेज प्रशासनले मानसिक यातना दियो