नवलपरासी, फागुन ९ :

नवलपुरको गैंडाकोटका विनोद सापकोटाले शिक्षा क्षेत्रमा एक प्रेरणादायी छवि बनाएका छन् । अक्षर लेखन सुधारमा मात्र सीमित नभई उनी विद्यार्थीहरूसँग घुलमिल भएर सिकाइलाई सहज र रमाइलो बनाउन बनाउँदै अध्यापन गराउँछन् ।

उनले हजारौं विद्यार्थी र अभिभावकलाई लेखनको महत्त्व बुझाउन सफल भएका छन् । शिक्षणशैलीले सरल, रोचक र प्रभावकारी बनाएका छन् । उनी भन्छन्, ‘विद्यार्थीहरू केवल अक्षर सुधार गर्न मात्र होइन, आत्मविश्वास, अनुशासन, र सकारात्मक सोचको विकास गर्न उत्तिकै महत्त्वपूर्ण मानिन्छ । त्यसैको प्रयास गरिरहेको हुँ ।’ उनले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट नेपाली र अंग्रेजी अक्षरलाई सुन्दर बनाउन नवीन प्रविधिसमेत अपनाइरहेका छन् ।

विनोदले नेपालका विभिन्न ठाउँ मात्र नभई विदेशमा रहेका नेपाली विद्यार्थीलाई समेत लेखन क्षेत्रमा मार्गदर्शन गरिरहेका छन् । रमाइलो वातावरणमा सिकाइलाई मनोरञ्जनसँग जोड्दै उनले शिक्षालाई नयाँ रूप दिन खोजेको बताउँछन् । ‘सिकाइ केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन । जीवनलाई सहज बनाउने माध्यम बन्नुपर्छ,’ विनोद विश्वस्त सुनिन्छन् ।

विनोदको निरन्तरको प्रयासले उनलाई ‘अक्षर गुरु’ सँगै विद्यार्थीहरूको अभिभावकसमते बनाएको छ । उनको शैलीले शिक्षा प्रणालीमा नवीन आयाम थपेको छ ।