
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट सुरु भएको १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले विकास निर्माणका कामहरु अगाडि बढाउन प्राथमिकता निर्धारण गर्न जरुरी रहेको धारणा राखे । उनले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनावद्ध विकास गर्न सकेका छैनौं । योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भएपनि योजनाअनुरुप काम हुँदैन । अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर मैलेचाहिँ के सोचेको छु भने विकास निर्माणका कामहरु अगाडि बढाउँदाखेरि प्राथमकिता निर्धारण गर्नुपर्दछ,’ उनले भने, ‘पहिलो प्राथमिकता धेरे जनघनत्व भएको, मानिसको आवागमन धेरै हुने क्षेत्रलाई दिनुपर्छ ।’
उनले मुलुकलाई समृद्ध बनाउन स्थानीयको उत्पादन सहरसम्म पुर्याउन आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेकोसमेत बताए । उनले नेपाल ठुलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ती देशका सीमानाकामा सहज आवतजावतको वातावरणसमेत बनाउनुपर्ने बताए । उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले वस्तुका लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे ।
‘जनताका उत्पादनहरु सहर र बजारसम्म ल्याउने वातावरण हुनुपर्यो । अर्को, हामी दुई ठुलो अर्थतन्त्र भएका देशका बीचमा छौं त्यसकारणले ती देशका सीमानाहरुमा रहेका सामान आयात गर्ने र निर्यात गर्ने वातावरण निर्माण गर्ने र कसरी हामीले अरु देशका उत्पादनहरु हाम्रो देशमा ल्याउनसक्छौं,’ उनले भने, ‘चीनसँगको नाकालाई हामीले अब प्राथमकिता दिन्छौं । कुनै एक देशसँग मात्र निर्भर हुन नपरोस् भन्नका लागि सबै नाकाहरुमा एक्सेस बढाउने काम गर्छौं ।’
प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीका १५० बढी स्टल छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।