
यस वर्षको हिउँदमा वर्षा नभएपछि चिन्तित हिमाली जिल्ला रसुवाका किसान अहिले खुसी देखिएका छन् । गत असोज १२ गतेपछि करिब पाँच महिना वर्षा नहुँदा आलु, गहुँलगायतका बालीनाली ओइलिएर सखाप भएको अवस्थामा परेको पानीका कारण स्थानीय कृषक खुसी भएका हुन् ।
यार्सा दोक्लाङका किसान रामकाजी तामाङ जमिनमा चिसोपनको अभावले ओइलाउन थालेका बारीका गहुँका बोट यही मङ्गलबारको वर्षासँगै जागाराम हुन थालेकामा हर्षित भएका छन् ।
उत्तरी रसुवामा वर्षे आलु र मकै तथा दक्षिणी भेकको प्रमुख बाली मकै लगाउने समय नजिकिँदै गर्दा आएको वर्षालाई आफूहरूले अमृतका रुपमा लिएको स्थानीय किसानको भनाइ छ ।
यसैगरी, जमिनमा चिसोपन बढेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने तथा वनजङ्गलमा लागेको डढेलोका कारण त्राहीमाम बनेको जनजीवनलाई राहत पुग्ने भएकाले स्थानीय किसानसहित जिल्लावासीमा उत्साह छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।
स्थानीय बासिन्दाका अनुसार हिउँदको अन्त्यतिर भएको यो वर्षासँगै उच्च भागमा हिमपात भई जिल्लाको गोसाइँकुण्ड, लाङटाङ, नाकथली, गतलाङलगायतका क्षेत्रमा अहिले हिउँ परिरहेको छ ।