उदयपुर, फागुन १० :

उदयपुरको त्रियुगा नगरपालिका-७, जोगिटोलस्थित मदन भण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन्। 

प्रहरीका अनुसार बारा जिल्लाबाट विवाहको जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रबार बिहान २:३० बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका-४ का ७० वर्षीय सिताराम धामी सख्त घाइते भएका थिए। उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने सख्त घाइते पाँच जनामध्ये दुई जनाको उदयपुर जिल्ला अस्पतालमा र तीन जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले बस र मिनिट्रक दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।