काठमाडौं, फागुन १० :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रबार पशुपतिनाथ पुगेका थिए । उनले महाशिवरात्रिलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन पनि दिए ।

उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गरे । उनले महाशिवरात्रि नेपालीहरुको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपतिनाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्‍याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । महाशिवरात्रिलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्त्व बढ्ने उनको भनाइ छ ।

‘यो निकै महत्त्व दिनुपर्ने महान् पर्व हो । नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पुर्‍याउने दिन भनेको महाशिवरात्रि हो । त्यो दिनलाई जति व्यवस्थित गर्नसक्यौँ, जति राम्रो गरी सञ्चालन गर्नसक्यौँ । देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुसी हुन सक्नुभयो, जति धेरै सहजता महसुस गर्न सक्नुभयो, त्यति नै महत्त्व, महाविशरात्रिको महत्त्व र देशको महत्त्व बढ्छ,’ उनले भने, ‘हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ । तयारी तीव्र गतिमा भइरहेको छ । रङरोगनको काम भइरहेको छ । यसपटकको शिवरात्रि अझ व्यवस्थित हुनेछ । भक्तजनहरु अझ सन्तुष्ट हुनुहुनेछ ।’

मन्त्री पाण्डेले महाशिवरात्रि मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारीसमेत दिए ।