आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

‘दुईदलीय व्यवस्थाका नाममा तानाशाही लागु गर्न खोजिँदै छ’

‘संविधान मिच्न बानी परेकाहरु कानुन मिच्न पनि त्यत्तिकै अग्रसर छन्’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० फागुन, २०८१ मा प्रकाशित
‘दुईदलीय व्यवस्थाका नाममा तानाशाही लागु गर्न खोजिँदै छ’
काठमाडौं, फागुन १० :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले वर्तमान सरकार दुईदलीय व्यवस्थाका नाममा एकदलीय तानाशाही व्यवस्था लागु गर्न खोजेको आरोप लगाए । साना र प्रतिस्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे ।

‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुईदलीयका नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन,’ उनले भने, ‘साना दलहरुलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर-तरिका अपनाएर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा गरिरहेको छ ।’

सरकारले संसद्‌को नियम र नियमावलीसमेत मिच्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाए । उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गरे । उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहे पनि अपराधीहरु दण्डित नभएको जिकिर गरे । उनले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।

‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्,’ उनले भने, ‘देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भीरता छैन ।’

उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार