काठमाडौं, फागुन १० :

देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ । यसैक्रममा प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५, मधुमारबाट गाँजा ४५० ग्राम र लागुऔषध ट्रामाडोल ७ ट्याब्लेटसहित सोही ठाउँका ३० वर्षीय मोहमद कलिमसमेत ४ जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले कलिमको घर तलासी गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ११, डोकेबजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित बैतडी पाटन नगरपालिका ६ बस्ने २८ वर्षीय कमल भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको कोल्हवी नगरपालिका ६, प्रसौनाबाट गाँजा ५५१ ग्रामसहित सोही ठाउँ बस्ने बच्चाबाबु चौधरीसमेत दुई जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको प्रहरीले बच्चाबाबुको पसल तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका ५, रातोडाँडाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १३० मिलिग्रामसहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका १७ घर भएका २७ वर्षीय सुशील घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिन्धुलीको मरिण गाउँपालिका ७, देउजोरबाट ट्रामाडोल १५४ ट्याब्लेटसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका २ बस्ने २३ वर्षीय रामबहादुर डिमदोङ र २२ वर्षीय साजन तामाङ छन् ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००६ प ३०८७ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।