
म्याग्दीको रघुगंगा गाउँपालिका ७ मा रहेको धौलागिरि आधार शिविर पुग्ने पदमार्ग र पुलको अभाव हुँदा ओझेलमा परेको छ ।
कोखेभिर र धौलागिरि भ्यु पोइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न रसी र खरको गाँजको सहारा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु पोइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको छ । राहुघाट नदीमा पुल नहुँदा जंघार तरेर खोला वारपार गर्नुपर्ने समस्या छ ।
बेनी-चिमखोला-घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाले बनाएको सडकमा चार घण्टा सवारीसाधनमार्फत पुग्न सकिन्छ । कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न नसकेको स्थानीय ललित गर्बुजा बताउँछन् ।
धौलागिरि हिमालको फेदमा पुगेर चुचुरोसम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो । सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिने पर्यटन व्यवसायी तारा गर्बुजा पुन बताउँछन् ।
दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुंगे पुल बनाउन सके छोटो दूरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना छ ।