
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते दिएका सन्देशले राजतन्त्र पुनर्स्थापनाको एजेन्डालाई नयाँ ऊर्जा मिलेको बताएका छन्।
राप्रपा नेपाल मकवानपुरले शुक्रबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीको मुद्दामा देशभर सहमति बढ्दै गएको दाबी गरे।
हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले मुलुकका प्रमुख राजनीतिक दलहरूले जनताको विश्वास गुमाउँदै गएको बताए। उनका अनुसार, ठुला भनिएका दलहरूले भ्रष्टाचार, कुशासन, र अनियमितताका कारण देशलाई आर्थिक संकटतर्फ धकेलिरहेका छन्।
थापाले बढ्दो युवा पलायन, बेरोजगारी, र आर्थिक अस्थिरताको कारण सरकारको गलत नीति रहेको आरोप लगाए। उनले सरकारको असक्षमताका कारण निकट भविष्यमा कर्मचारीहरूको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता दिन कठिन हुने चेतावनी दिए।
विदेशी शक्तिहरूको अत्यधिक प्रभावका कारण देश आन्तरिक रूपमा कमजोर बनेको उनको भनाइ छ। उनले राष्ट्रिय एकताको अभावमा बाह्य शक्तिहरूले नेपालमाथि निरन्तर हस्तक्षेप गरिरहेको बताए।
अध्यक्ष थापाले राष्ट्रवादी, देशभक्त, र प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताए। उनले आफूलाई कुनै पदको लोभ नभएको भन्दै अबको प्राथमिकता देशको स्वाभिमान जोगाउनु रहेको स्पष्ट पारे।