
भारतको उत्तरप्रदेशमा महाकुम्भ स्नानबाट फर्किरहेका नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटनाग्रस्त हुँदा चार नेपालीको मृत्यु भएको छ।
गोरखपुर लिंक रोडस्थित बाँसगाउँ थाना क्षेत्रमा शुक्रबार राति भएको दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका–७ का लिलावती चौधरी, परसुराम चौधरी र वडा नम्बर ५ की हरिहरदेवी यादवको मृत्यु भएको पुष्टि भएको छ।
यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि सोही दुर्घटनामा परी मृत्यु भएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा सात जना सख्त घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टरको पछाडीको ट्रलीमा स्कारपियो ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । महाकुम्भ जाँदा र फर्कने क्रममा भएका दुर्घटनामा अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेका छन् ।