बाजुरा, फागुन ११ :

बाजुराको बूढीगंगा नगरपालिका-८ मा विवाहको भोज खाने क्रममा विवाद हुँदा २७ वर्षीय रणबहादुर थापाको मृत्यु भएको छ।  

स्थानीय सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर  बूढीगंगा नगरपालिका-९ का बासिन्दा थापाको हत्या गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बूढीगंगा नगरपालिका-७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेका छन्।

बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीप गिरीका अनुसार लोकेन्द्र खड्कालाई साफेबगरबाट र अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि विवाद सुरु भएको थियो।