
पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न कारणले विदेशमा अध्ययन अधुरो पारेर नेपाल फर्किएका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गरी पढाउने निर्णय गरेको छ।
विश्वविद्यालयले एक सूचना जारी गर्दै विशेष कारणले अध्ययन पूरा नगरी स्वदेश फर्किनुपरेका विद्यार्थीहरूलाई आफ्ना शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयमा समायोजन गरी अध्ययन जारी राख्न अवसर दिने जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार, उच्च शिक्षाका लागि विदेश गएका तर विभिन्न बाध्यताका कारण अध्ययन जारी राख्न नसकेका विद्यार्थीहरूले नेपालमै आफ्नो शैक्षिक यात्रा निरन्तरता दिन सक्नेछन्। विश्वविद्यालयले अध्यापन गराइरहेका पाठ्यक्रमहरूसँग मिल्ने विषयमा क्रेडिट ट्रान्सफरको सुविधा उपलब्ध गराउने बताइएको छ।
हालै भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले जबरजस्ती निकालेको घटना सार्वजनिक भएको थियो। यस घटनापछि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किन बाध्य भएका थिए।
विद्यार्थीहरूको यही अवस्थालाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले उनीहरूको अध्ययनलाई निरन्तरता दिन क्रेडिट ट्रान्सफरको विकल्प उपलब्ध गराउने निर्णय गरेको हो। विश्वविद्यालयका अनुसार, यस प्रक्रियाबारे थप जानकारी लिन इच्छुक विद्यार्थीहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।
