
प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ।
गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो ।
युद्धविरामको पहिलो चरण अन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।
तर, यस पटक पनि हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको नाम रिहा हुने सूचीमा समावेश भएको छैन। जोशी गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणका क्रममा बेपत्ता भएका थिए। उनलाई हमासले बन्धक बनाएको आशंका गरिए पनि हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन।
विपिन जोशी इजरायली किबुत्ज अलुमिममा कृषिसँग सम्बन्धित काम गर्दै आएका थिए। हमासको आक्रमणका क्रममा सो क्षेत्र सबभन्दा प्रभावित बनेको थियो। त्यसबेला त्यहाँ कार्यरत अन्य नेपाली विद्यार्थीहरूमध्ये दश जनाले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए।
विपिनको अवस्था अझै अज्ञात रहेकाले उनका परिवार तथा नेपाल सरकारले उनको अवस्थाबारे स्पष्ट जानकारी दिन इजरायली सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग पहल गरिरहेका छन्।
यसअघि पनि विभिन्न चरणमा हमासले बन्धकहरूको रिहाइ गरेको थियो, तर विपिनबारे कुनै ठोस जानकारी सार्वजनिक हुन सकेको छैन। हमास र इजरायलबीच वार्ताहरू चलिरहेको भए पनि विपिनको उद्धार कहिले हुने भन्ने अझै अनिश्चित छ।