धनुषा, फागुन ११ :

जिल्लामा रहेका आर्थिक अवस्था कमजोर भएका, विपन्न नागरिकका लागि कृषि खाद्य परियोजना सुरु भएको छ ।

विपन्न किसानको अवस्था सुधार र खाद्य सुरक्षा दिने उद्देश्यले प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणालीका लागि मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विनयकुमार कर्णले आजदेखि नागरिक समाज परियोजनाको शुभारम्भ गरेका हुन् ।

सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने उक्त कार्यक्रम गणेशमान चारनाथ र सहिदनगर नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा सञ्चालन हुने सचिव डा कर्णले जानकारी दिए ।

उनका अनुसार यसको लक्ष्य प्रदेशमा प्रकृतिमैत्री खाद्य समस्या समाधान र नीतिको स्थानीयकरणमार्फत स्थानीय कृषि खाद्य प्रणालीलाई प्रवर्द्धन गर्नु हो ।

जिल्लाका तीन वटा लक्षित नगरपालिकाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार हुने र नागरिक समाज तथा स्थानीय अधिकारीले स्थानीय कृषि खाद्य प्रणालीलाई प्रवर्द्धन गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

परियोजनाबाट प्रत्यक्ष रूपमा पाँच हजार सीमान्तकृत परिवारका करिब २६ हजार छ सय १० व्यक्ति, ५० प्रतिशत महिला, साना कृषक तथा भूमिहीन परिवार, कमला नदीबाट प्रभावित, अति जोखिममा रहेका समुदाय, विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा रोजगार गुमाएका युवासहित ३१ वटा सामुदायिक संस्था लाभान्वित हुनेछन् । 

पालिकाका पाँच हजार सीमान्तकृत परिवारलाई पुनः जीवित कृषि उत्पादनका लागि प्राविधिक ज्ञान र पूर्वाधार क्षमतासम्बन्धी तालिम, कृषि उपकरण र बीउ उपलब्ध गराइने सचिव डा कर्णले बताए ।