ललितपुर, फागुन १२ :

ललितपुर महानगरपालिकाले सडक र सहरको सरसफाईमा विशेष ध्यान दिएर नै होला आफूलाई सुन्दर सहरको रुपमा परिचित गराएको छ । 

सडक होस् अथवा कुनै पनि सार्वजनिक स्थानमा फोहोर गर्नेलाई ठाउँको ठाउँ जरिबाना तिराएर सहरको सुन्दरतामा कसैसँग पनि सम्झौता गर्दैन भन्ने महानगरको नीति रहेको स्पष्ट हुन्छ ।

यसैक्रममा ललितपुर महानगरपालिकाले नख्खुको बाटोमा गिट्टी खसाल्ने मिक्स्चरलाई ३० हजार रुपैयाँ जरिवाना गराएको छ । ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार नख्खुमा मिक्स्चरले गिट्टी खसाली फोहोर गरेकोमा सन्जोक केसीलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

ललितपुर महानगरले चुपचाप शैलीमा सडकलाई सफा र सुन्दर बनाएको छ । यहाँको सडकपेटी हरियाली र बगैँचा जस्तो देखिन्छ । समय-समयमा टयाङ्‍करबाट पानी ल्याएर बोट-बिरुवाका पातमा लागेका धुलो सफा गर्ने गरिएको छ ।