काठमाडौं, फागुन १२ :

नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को निर्माण २०८३ चैत मसान्तभित्र सक्ने लक्ष्य लिएको छ।  सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरी निर्धारिता समयमा द्रुतमार्ग निर्माण नसकिने जनाएको हो।

द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको जनाउँदै खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।

भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ।

‘गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुनेकुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ।’ सेनालाई सबैभन्दा गाह्रो रुख कटानको काम भएको पनि त्यस अवसरमा जानकारी गराइएको थियो । 

 कुल ७०.९७७ किमी दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो । अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख शाहले जानकारी दिए । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए।

सैनिक कल्याणकारी कोषको रकम  ८७ अर्ब एक करोड पुगेको छ ।

राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो । उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए ।आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन ।

यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३०.५२ र वितीय प्रगति २५.७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।