
पहाडकी रानी उपनामले परिचित पर्यटकीयस्थल बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि तीन दिने राष्ट्रिय साहित्यकार सम्मेलन हुने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोरखापत्र संस्थान र पद्मा पुस्तकालयको आयोजनामा हुने साहित्यिक सम्मेलन यही फागुन १४ गतेसम्म चल्नेछ ।
बन्दीपुरलाई साहित्यको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले साहित्यिक सम्मेलन आयोजना गरिएको सम्मेलनका संयोजक एवं बन्दीपुर पद्मा पुस्तकालयका अध्यक्ष सुदर्शन प्रधानले जानकारी दिए ।
प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधतायुक्त बन्दीपुरलाई आँखाले देखेर, सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने जनाएको छ । साहित्यकार सम्मेलनले ऐतिहासिक सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष तथा साहित्यकार शङ्करराज नहर्कीले बताए ।
