काठमाडौं, फागुन १३ :

अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत सञ्चालित केही कार्यक्रमहरूसम्बन्धी सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार र टिप्पणीप्रति ध्यान आकर्षित भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशअनुसार, नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका चारवटा प्रमुख कार्यक्रमहरू- शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसम्बन्धी कार्यक्रमहरू ९० दिनका लागि मात्र रोकिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यसैगरी, जैविक विविधता, प्रदेश र स्थानीय शासन सुदृढीकरण कार्यक्रम तथा जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रमका तीनवटा कार्यक्रमहरू अझै डिजाइनको चरणमा रहेको पनि सहसचिव श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यूएसएआईडीका १६ सय कर्मचारीलाई निकालियो, अधिकांशलाई दिइयो बिदा

ट्रम्पको आदेशको आधारमा यी कार्यक्रमहरू पनि रोकिएको जनाइएको छ । यी कार्यक्रमहरूको सम्झौता नभएकाले हालसम्म कुनै सहयोग प्राप्त नभएको पनि प्रस्ट पारिएको छ ।

सरकारले यी सबै घटनाक्रमलाई ध्यानमा राखेर आवश्यक कदम चालेको जनाएको छ । भविष्यमा यस्ता सहयोग पुनः सुरु गरिने आशा व्यक्त गरिएको छ ।

नेपालको आर्थिक, सामाजिक र पूर्वाधारको क्षेत्रमा संयुक्त राज्य अमेरिकाले लामो समयदेखि महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । यूएसएआईडीद्वारा नेपालमा १९५१ सालदेखि विभिन्न अनुदान सहायता कार्यक्रम सञ्चालित छन् ।