काठमाडौं, फागुन १३ :

नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ११ दशमलव ५६ अंकले बढेको नेप्से आज पुन: तीन दशमलव ३५ अंकले बढेर २७ सय ५८ दशमलव ७५ अंकमा पुगेको छ ।

यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य ६० अंकले बढेर चार सय ५९ दशमलव २५ अंकमा पुगेको छ । नेप्सेमा आज ३१० कम्पनीको एक लाख तीन हजार दुई सय ६२ पटकको कारोबारमा दुई करोड ११ लाख १० हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम ११ अर्ब आठ करोड ५४ लाख ६४ हजार सात सय ५८ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चार समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २५ अंकले बढेर १३ सय ८५ दशमलव शून्य एक अंकमा चढेको छ । उत्पादनमूलक समूहको सूचक ६९ दशमलव ८० अंकले बढेर सात हजार दुई सय ३९ दशमलव ९८ अंकमा पुगेको छ ।

यसैगरी अन्य समूहको सूचक ५८ दशमलव १४ अंकले बढेर २३ सय ८० दशमलव ९४ अंकमा पुगेको छ ।

लगानी समूहको सूचक एक दशमलव शून्य नौ अंकले बढेको छ । यीबाहेक विकास बैंक समूहको सूचक भने आज पाँच दशमलव ४२ अंकले घटेर पाँच हजार ६ सय ५१ दशमलव ४८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ३४ दशमलव ५७ अंकले घटेर २८ सय १४ दशमलव ५३ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पाँच दशमलव ९२ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव २० अंकमा झरेकामा जीवन बिमा समूहको सूचक एक सय २७ दशमलव ६० अंकले घटेर १३ हजार सात सय ३२ दशमलव ९७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ९६ दशमलव ६३ अंकले घटेर १२ हजार आठ सय ९९ दशमलव ८९ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक क्रमशः ५९ दशमलव शून्य एक, ३३ दशमलव २६, शून्य दशमलव ११ र ११ दशमलव ४८ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।