रौतहट, फागुन १३ :

प्रत्येक वर्ष झैं यस वर्ष पनि रौतहटमा फर्निचर मेला सुरु भएको छ । नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा फर्निचर मेला लागेको हो ।

गरुडा नगरपालिका १, जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमीदेखि सुरु भई झन्डै दुई महिनासम्म लाग्दै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा बजारभन्दा ३ किलोमिटर दक्षिण ग्रामीण क्षेत्र जयनगरमा लागेको फर्निचर मेला सम्भवतः देशकै ठुलो ग्रामीण फर्निचर मेला हो । मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् ।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत जिल्लाका फर्निचर व्यवसायीहरुले फर्निचर र फलामका सामग्री बिक्रीका लागि ल्याएका छन् । मेलामा बक्स पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, ढोका, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करीब सबै काठका फर्निचर सामग्रि मेलामा ल्याइएको छ । यस्तै फलामको कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायतका सामग्री पनि बिक्रीका लागि राखिएका छन् । देशका विभिन्न भागबाट मेलामा फर्निचर आउने क्रम अझै जारी छ ।

हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा व्यवसायी पनि उत्साहित हुँदै गएका छन् । दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ ।

हरेक वर्ष मेलाको विस्तार भइरहेकाले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ । मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको मेला समितिले जनाएको छ ।

मेलामा यस वर्ष पाँच करोड रुपैयाको कारोबार हुने लक्ष्य राखिएको छ । समितिका अनुसार गत वर्ष ३ करोडको कारोबार भएकामा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकाले ५ करोडसम्मको कारोबार हुने पूर्वअनुमान गरिएको समितिको भनाइ छ ।

२०६५ सालदेखि नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकाले कारोबार पनि बढ्दै गएको समितिले जनाएको छ । यातायातको सुविधा भएको र तुलनात्मक रुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।