
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई अझ बढी जनमुखी बनाउँदै समाजवादको आधार तयारतर्फ लैजाने अभियानमा कुनै कमजोरी हुन नदिइने बताए । माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान प्रभावकारी बनाउँदै पार्टीलाई बलियो र एकताबद्ध गर्नुपर्ने उनले बताए ।
माओवादी केन्द्रले राज्य सञ्चालनका क्रममा सुशासन अभियान सञ्चालन गरेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यो अभियान जस्तै पार्टीको रुपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी रहेको बताए । वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध सङ्घर्ष गर्ने, विधि पद्धति स्थापित गर्न सङ्घर्ष गर्नु आवश्यक रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीमा असाधारण एकता सुरु भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले ल्याएका छवटा अध्यादेश पास हुन नदिने बताए । संसद्लाई पछि सारेर अध्यादेश ल्याइएको उनको आरोप थियो ।
उपाध्यक्ष श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूमाथि मनोवैज्ञानिक अवरोध गरिएको बताएका छन्। श्रेष्ठले बोल्न सुरुवात गर्दैगर्दा अवरोध गर्दा आफूलाई बिझाएको बताएका हुन्।
'मैले त्यहाँ आपत्ति जनाएर बोल्न छोडेपछि शुभेच्छुकहरूले यस्तो नगरिदिएको भए हुन्थ्यो,कतिले त म्यासेज पनि पठाउनु भएको छ तपाईंले यस्तो गर्न सुहाउँदैन भनेर उनले भने, त्यसमा आत्मआलोचना गर्दै म सार्वजनिक रुपमा क्षमायाचना गर्न चाहन्छु।' पार्टीले झापामा सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’को उद्घाटनसभामा श्रेष्ठ रिसाएका थिए।