
प्रतिनिधिसभाको मंगलबारको बैठकले आमसञ्चार परिषद् विधेयकलाई सर्वसहमतिले स्वीकृत गरेको छ । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए ।
‘विधेयकमा प्रेस काउन्सिलले गरिरहेको काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा माथि पनि छलफल चल्नेछ,’उनले भने, ‘परिषद्लाई स्वतन्त्र मर्यादित संस्थाका रूपमा परिकल्पना गरिएको छ, सदनमा उठेका विषयमाथि थप संशोधन गरिनेछ, समितिहरूबाट आउने विषयहरू पनि समेटिनेछ ।’
सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राखेको धारणा मननीय र ग्रहणयोग्य रहेको मन्त्री गुरूङको भनाइ थियो ।
यसअघि मिडिया काउन्सिल विधेयकका रूपमा दर्ता गरिएकामा त्यसलाई नेपालीकरण गरी ‘आमसञ्चार परिषद् विधेयक’ का रूपमा ल्याइएको उको भनाइ थियो । राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयनका लागि यो विधेयक जरूरी रहेको समेत उनले उल्लेख गरे । नीतिले मार्ग निदृष्ट गरेका विषय समयसापेक्ष बनाउन विधेयकले भूमिका खेल्ने पनि बताए ।
पहिले छापा माध्याम बढी रहेको अहिले विद्युतीय माध्यामहरूको सङ्ख्या बढेको, प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहने उनको भनाइ थियो ।