
ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न निषेध गरेको थियो । निषेधाज्ञा हटेपछि फुङलिङ बजार तथा प्रभावित क्षेत्रमा जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ ।