काठमाडौँ, फागुन १५ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक  प्रविधि, सीपले सुसज्जित, अध्ययन- अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताएका छन् ।

सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र आफ्नै आर्थिक प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकीकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैरअनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्न सक्नुपर्ने बताएका छन् ।

महाशिवरात्रि ‍तथा सेना दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सु- स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले दिवसले सेनाहरुको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने उल्लेख गरेका छन् । नेपाली सेना साहसी र समर्पित भावले काम गरिरहेको उनको भनाइ छ । 

“सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नुपर्दछ । सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विपद्को घडीमा देश र समाजलाई सहयोग गर्दै आएको छ”, उनले भनेका छन् ।