
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाएको हो ।
दर्शनार्थी एवं भक्तजनका सवारी साधनहरुको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्येश्वरीपारि करिडोर सडकमा मिलाएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरु पार्किङ गर्न सकिनेछ । त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारीसाधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।
सदाझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ ।
सम्भावित सवारीसाधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ । तर आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा राखिदिनसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।