विराटनगर, फागुन १५ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताएका छन् । 

अध्यक्ष प्रचण्डले पूर्व- पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताए ।

प्रेस सेन्टर नेपाल, मोरङ शाखाले आज गरेको आयोजित पत्रकार सम्मेलनमा उनले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने बताएका हुन् ।

आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक रहेको भन्दै यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि भएको उनले स्पष्ट पारे ।

अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र) नै भएको दाबी गरे ।