बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

महाशिवरात्रि : डोलेश्वरमा भक्तजनलाई प्रसादको व्यवस्था, दर्शनका लागि चारै ढोका खुल्ला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
महाशिवरात्रि : डोलेश्वरमा भक्तजनलाई प्रसादको व्यवस्था, दर्शनका लागि चारै ढोका खुल्ला
भक्तपुर, फागुन १५ :

महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । 

सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् । 

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको जानकारी दिए । 

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्था गरिएको समितिका महासचिव बस्नेतले बताए । 

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमा पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानसहित सोहीअनुसार व्यवस्था गरिएका उनको भनाइ छ । 

शिवरात्रिका लागि यसवर्ष करिब तीन सय साधुसन्त र बाबा आएका छन् । 

यसैगरी, महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ । मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार