
आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ ।
आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्न लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव, बाँकेको बागेश्वरीलगायत शिवालयमा भक्तजनको भिड छ ।
पूजा आराधनाका लागि पशुपतिनाथ पुगेका भक्तालु दर्शनार्थीहरुलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शनका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।
हेरौं पशुपतिनाथमा दर्शनार्थीको घुइँचो :