इलाम, फागुन १५ :

इलामको जस्वीरे चिया प्रशोधन कारखानामा गएराति आगलागी भएको छ । आगलागीबाट करिब ८ करोड रुपैयाँ बढीको क्षति भएको छ । 

राति करिब साढे ९ बजेतिर सुरु भएको आगो नियन्त्रणमा आउन नसक्दा पूर्ण रूपमा कारखाना जलेर ध्वस्त भएको छ । आज बिहान ४ बजे तिरमात्र आगो नियन्त्रण भएको बताइएको छ। कारखानाभित्र तयारी चियाको स्टक धेरै भएकाले पनि आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो ।

दिनभरी कारखानामा मेसिन मर्मत तथा घर थप्नका लागि काम गरेर बेलुका आराम गर्न निस्कने समयमा केही पड्किएजस्तो आवाज आएर हेर्दा आगो सल्किसकेको कारखाना सञ्चालक शरद सुब्बाले बताए । विद्युत् सर्ट भएर आगो सल्किएको हुन सक्ने सुब्बाको अनुमान छ ।

आगो निभाउने क्रममा शरदको पनि शरीरमा आगोले पोलेको र चोट लागेर उहाँ घाइते भएका छन् ।  कारखानामा रहेका प्रायः सबै मेसिन तथा तयारी चिया जलेर नस्ट भएका छन् । ट्रस्ट र जस्तापाताले बनेको कारखानाको दुई तले भवन काम नलाग्ने भएको छ ।

आगो नियन्त्रणका लागि स्थानीयवासी र प्रहरीले प्रयास गरे पनि आगो नियन्त्रण बाहिर गएको थियो । इलाम नगरपालिकाबाट गएको दमकल घटनास्थल पुग्दासम्म कारखाना सबै जलेर सक्किएको थियो ।

नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दस वर्ष यता सञ्चालन गर्दै आएका थिए । ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डन, गोल्डेन पल, गोल्डेन रिङलगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्स, चीन लगायत तेस्रो मुलुक निर्यात गर्दै आएका थिए।

कारखाना ध्वस्त भएपछि आज बिहान निरीक्षणमा पुग्नुभएका इलाम नगरपालिकाका प्रमुख केदार थापाले यो अकल्पनीय र अपूरणीय क्षति भएको प्रतिक्रिया दिए ।