जेनेभा, फागुन १५ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् । उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

मन्त्री देउवाले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायतको सहभागिता रहेको परराष्ट्रमन्त्री देउवाको सचिवालयले जनाएको छ ।