
महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा बुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा बिहान ३ बजेदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँ तानसेन र आसपासबाट भक्तजन पुगेका छन् । यस्तै तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुँइचो लागेको हो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिए । उनकाअनुसार पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको उनले बताए ।