
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरुबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो ।
भेटमा मन्त्री देउवाले युरोपियन युनियनका समेत विदेश तथा सहयोगमन्त्रीका रुपमा रहेका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रुपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरेकी थिइन् । भेटमा मन्त्री देउवाले नेपाललाई कोभिड १९ तथा भूकम्पजस्ता अप्ठ्यारो समयमा पनि स्पेनले पुर्याएको सहायताका लाग धन्यवाद ज्ञापन गरिन् ।
नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गरिन् । मन्त्री देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले आन्तर्राष्ट्रिय मञ्चहरुमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गरिन् ।
परराष्ट्रमन्त्री देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गरिन् ।
साथै उनले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकोले त्यसमा सहभागिताका लागि स्पेनलाई पनि आमन्त्रण गरिन् ।
त्यस अवसरमा मन्त्री देउवाले नेपालमा दूतावास स्थापना गर्न स्पेनलाई आग्रह पनि गरिन् ।
त्यसैगरी मन्त्री देउवाले आजै स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा उनले नेपाल स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएका उम्मेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुबारे कुराकानी गरेको परराष्ट्रमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
त्यसैगरी आजै मन्त्री देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकारसम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गरेकी थिइन् । त्यस अवसरमा उनीहरूबीच नेपाल-मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।