काठमाडौँ, फागुन १६ :

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) ले आजबाट १७ गतेसम्म २९औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

ललितपुरको लिटिल एन्जेल्स स्कुलमा हुने सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, रूस, मङ्गोलियासहित २० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधिको सहभागितामा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी विषयवस्तुमा छलफल गर्न लागिएको हो ।

नेल्टाका अध्यक्ष लक्ष्मण ज्ञवालीले मुलुकमा अङ्ग्रेजी भाषा शिक्षणमार्फत शिक्षाकोस्तर बढाउन प्रतिबद्ध रहेको संस्थाले दक्ष मानव संशाधनको विकासका लागि सम्मेलनमा छलफल गरिने जानकारी दिए । सम्मेलनको मुख्य थिम मेसिन, मानवता र भाषाः अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू रहेको छ । 

सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्राध्यापक, शिक्षक र शिक्षासँग सम्बन्धित व्यक्तिले शिक्षण पद्दति, सिकाइका अभ्यास, खोज, अनुसन्धानबारे प्रस्तुति गरिने जनाइएको छ । विभिन्न वर्कसप, इभेन्ट्स, अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सञ्चालन गरिने सम्मेलनमा अंग्रेजी शिक्षक, अंग्रेजी भाषा शिक्षणसम्बन्धी पेसाकर्मी, अनुसन्धानकर्ता र विद्यार्थीको निरन्तर व्यावसायिक सीप विकासका लागि कार्ययोजना तयार गरिनेछ ।

सन् १९९२ मा एक स्वैच्छिक, गैर- राजनीतिक, गैर- नाफामुखी संस्थाको रूपमा स्थापित नेल्टाले हाल देशका सात वटा प्रादेशिक समिति र ६० शाखामार्फत काम गरेको छ । यसमा पाँच हजार सात सय आजीवन सदस्य छन् । 

सम्मेलन अवधिभर विभिन्न सङ्गोष्ठी र अन्तरक्रियात्मक अङ्ग्रेजी भाषा मेलाको साथै कविता वाचनलगायत गतिविधि आयोजना गरिनेछ । विभिन्न प्रकाशन र संस्थाहरूद्वारा पुस्तक मेला र अन्य भाषिक खेलहरू आयोजना गरिनेछ । 

नेल्टाले सन् २०११ देखि अमेरिकन दूतावास काठमाडौँको सहयोगमा ३५ वटा जिल्लामा एक हजार सात सयभन्दा बढी सिमान्तकृत विद्यार्थीलाई अङ्ग्रेजी भाषा तथा कम्पयुटरलगायत अन्य नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरेको छ ।