चितवन, फागुन १६ :

हमासले पटक-पटक गरी बन्धकलाई रिहा गर्दै आए पनि अहिलेसम्म पनि नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा पर्न सकेका छैन । 

इजरायली बन्धकहरु धमाधम रिहा हुँदा विपिन किन प्राथमिकतामा परेका छैनन् भन्ने चासो बढ्न थालेको छ । विद्रोही समूह हमास–इजरायलबीच युद्धविराम भएको पनि ६ हप्ता बितिसक्यो । 

सुरुवाती चरणमा दुवै पक्षले आआफ्ना बन्दी रिहा गर्दा विपिन पर्ने अवस्था त थिएन । पछिल्लो समयमा भने निकै आशा गरिएको थियो ।

दुई पक्षबीचमा आरोप–प्रत्यारोप बढ्नुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी जोशीको यथार्थ स्थितिको जानकारी हासिल गर्ने विषय थप अन्योलमा परेको छ।

दुई पक्षबीचको ९० दिने युद्धविरामको पहिलो चरण बित्दै गर्दा हमास–इजरायलबीचको युद्धविराममा पुनः गतिरोध उत्पन्न हुने अवस्था सिर्जना भएको छ। यस किसिमको परिस्थितिले बन्धक रिहाईमा बाधा पर्न सक्ने स्थिति देखिन्छ । बन्दी रिहा गर्न इजरायलले आनाकानी गरेपछि फेरि युद्धविराम धरापमा पर्ने हो कि भन्ने त्रास फैलिएको छ।  

हमासको कब्जामा रहेको भनिएको विपिन जीवित रहेको दाबी इजरायलले पटक-पटक गर्दै आएको छ। सोही आधारमा नेपाली अधिकारीहरूले पनि विपिन जीवितै रहेको आशा प्रकट गर्दै आएका छन्। उनको रिहाईमा ढिलाई हुँदै जानु र हमाससँग केही शवहरु पनि हुनुले आशंका भने गर्न सक्ने ठाउँ छ ।

परराष्ट्रमन्त्री डा. राणाले इजरायली अधिकारीहरुसँग भएको कुराकानीलाई आधार मान्दै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको बैठकमा विपिन जीवितै रहेको दाबी गरेकी थिइन्।

विपिन अपहरणमा परेको एक महिनापछि २२ नोभेम्बर २०२३ मा इजरायली सेनाले सार्वजनिक गरेको भिडिओ फुटेजमा हमासको कब्जामा देखिने ती युवक नेपाली विद्यार्थी विपिन जोशी रहेको इजरायली सेनाको दाबी थियो। विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री डा. राणाले पहल जारी राख्दै आएकी छन् । उनले अबको रिहाईमा विपिनलाई प्राथमिकतामा राख्दै पनि आग्रह गर्दै आएकी छन् ।