
प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ। फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट आएका उनीहरुको साथबाट प्रहरीले सुन बरामद गरेको हो ।
विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिरिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । टर्मिनल गेटमा पुगेपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।
पक्राउ पर्नेमा एक पुरुष र तीन महिला रहेका छन् । उनीहरु उज्बेकिस्तानका नागरिक भएको बुझिएको छ । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।
केही महिनाअघि विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको थियो । एयरपोर्टबाट निस्केर टयाक्सीमा चढेपछिमात्र प्रहरीले सुन बोक्ने केहीलाई नियन्त्रणमा लिएको थियो । सेटिङको आधारमा विमानस्थलबाट दैनिक जसो सुन बाहिरिने र कुरा नमिलेपछि मात्र पक्राउ गर्ने भनेर बाहिर चर्चा हुने गरेको छ ।