
मोरङ, फागुन १६ :
नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता-कार्यकर्ताले कुटपिट गरेका छन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल पक्षले नेविसंघ जिल्ला सभापति पोखरेलमाथि बिहीबार दिउँसो क्याम्पस परिसरमै कुटपिट भएको हो ।
कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् । आसन्न स्ववियु चुनावको तयारीको क्रममा दुई पक्षबीच भनाभन भएपछि एक-अर्कामाथि हात हालाहाल भएको बताइएको छ ।
घटनामा नेविसंघका मोरङ जिल्ला सभापति पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन्। उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
