काठमाडौं, फागुन १६ :

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गरेको छ ।

विश्वविद्यालयले अभिभावकहरूलाई अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च आफैँले बेहोर्ने उल्लेख गरेको छ । विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति शरणजित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रूपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ । साथै विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन पनि आग्रह गरिएको छ ।

‘विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ’,’ पत्रमा भनिएको छ, ‘विश्वविद्यालयमा फर्कनका लागि बस, रेल वा हवाई यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्नेछ ।’

विश्वविद्यालयमा हाल ६५ भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटक-पटक आह्वान गरिरहेको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको घटनाले नेपाली विद्यार्थीहरु त्रसित छन् । उनीहरु त्यो घटना सम्झन पनि चाहँदैनन् । घटनाको छानबिनको माग राख्दै गरिएको प्रदर्शनमा कलेज प्रशासनका केही कर्मचारी र सुरक्षा गार्डबाटै निर्घात कुटपिट भएको थियो । कलेज प्रशासनले नै उनीहरुलाई होस्टेलबाट निकालेर पठाएको थियो । विद्यार्थीहरुले फर्कनका लागि पूर्ण सुरक्षाको माग गरेका छन् ।