काठमाडौं, फागुन १६ :

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो वर्ष नहुने भएको छ । योसँगै प्रतियोगिताको मिति तेस्रोपटक सरेको छ । यसअघि चैत अन्त्यमा गर्ने तय भएको थियो ।

दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज (बिहीबार) बसेको १२१औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । यो प्रतियोगिता कर्णाली प्रदेशमा हुने तय भएको हो ।

त्यस्तै, बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघलाई निलम्बन गर्ने निर्णय गरेको छ ।